बजेटले जनतामा देखिएको निराशा चिर्नेछ : अर्थमन्त्री

बजेटले जनतामा देखिएको निराशा चिर्नेछ : अर्थमन्त्री

यो वर्ष सरकारले १६ खर्ब ६२ अर्ब १६ करोड खर्च गर्न सक्ने अनुमान



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले जनतामा देखिएको निराशा चिर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‌मा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने बताए ।

अर्थमन्त्री पौडेलले सरकार आमजनतामा आशा जगाउन दृढ संकल्पित भएको बताएका छन् । उनले विकासका लागि अहिलेको भन्दा अनुकूल विकल्प नहुने समेत बताए ।

“गौरवपूर्ण इतिहास र फराकिलो जनाधार भएका र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका दुई ठूला राजनीतिक दलको अग्रसरतामा यो सरकार बनेको हो । वर्तमान संसद्को अंकणितको सीमाभित्र राजनीति, स्थिरता र विकासका लागि योभन्दा अर्को अनुकूल विकल्प छैन भन्ने प्रस्ट छ ।”

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । अर्धवार्षिक समीक्षामार्फत बजेट घटाएका अर्थमन्त्रीले अहिले अर्को संशोधित अनुमान पेस गरेका हुन् । यसमध्ये चालुतर्फ ८८.५ प्रतिशत, पुँजीगततर्फ ८३.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९७.६ प्रतिशत खर्च हुने उनको संशोधित अनुमान छ ।