अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा



म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरु नेपाल आइपुगेका छन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भोलिदेखि शुरू हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुना नेपाल आएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने हीरक जयन्तीका सबै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

फ्रान्सेली पर्वतारोही मौरिस र लुइस लाचेनले अक्सिजनविना नै सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा भोलिदेखि २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक जयन्ती मनाउन लागिएको हो ।

यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाण्डौमा समारोह आयोजना हुँदै आएका थिए ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।