काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।
उनले जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महशुस गरेर संसदमा बजेट प्रस्तुत गर्न दिएको जिकिर गरे । उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरूमा आफूहरूले अडिग रहेको बताए ।
रास्वपाका प्रमुख सचेतक परियारले आफूहरूको मुद्दालाई सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने जिकिर गरे । उनले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताए ।
उनले भने, “हिजो हामीले संवैधानिक दायित्व महशुस गरेर जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा त्यो बोध गरेर हामीले बजेट जेठ १५ गते ल्याउने संवैधानिक व्यवस्था हो, तदनुरूपको लागि हो । अन्य कुरामा रास्वपा लगायतका अन्य प्रतिपक्षी दलहरू आन्दोलनमा छौँ । हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुपर्यो । अनि मात्रै सदन अगाडि जान्छ । अनि मात्रै अरू कामहरू हुन्छ । हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरू, घटनासँग सम्बन्धित कुराहरू आएका छन् । त्यो कुराहरू पनि हामी सदनमा जानकारी गराउँछौँ । हाम्रो आन्दोलन जारी राख्छौँ । राजीनामा, जवाफ चाहियो, छानविन समिति बन्नुपर्यो ।”
प्रतिक्रिया