काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले संसदका आगामी बैठकहरू सहज ढंगले सञ्चालन हुने विश्वास लिएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताएका हुन् ।
उनले संसद सुरु हुन अझै चार दिन बाँकी रहेको बताउँदै यो बिचमा विपक्षी दलहरूले छलफल गरेर संसद बैठकलाई सहज ढंगले लैजाने वातावरण बनाउने विषयमा विश्वास गर्न सकिने जानकारी दिए ।
प्रमुख सचेतक बर्तौला कर्मचारीको विषयलाई लिएर संसदीय गतिविधिहरू अवरोध गर्ने विषयले गलत सन्देश जाने विषय प्रतिपक्षीले बुझ्ने भरोसा लिएको बताए । उनले यस्ता गतिविधिहरूले राजनीतिक नजिरहरू बस्न सक्ने बताउँदै चार दिनको बिचको समयमा विपक्षीहरूले समीक्षा गर्ने जिकिर गरे ।
उनले भने, “आज १६ गते भयो, अझै चार दिन समय छ । उहाँहरूको पनि थप छलफल होला, उहाँहरूले पनि विषयवस्तु बुझ्नुहोला, हतारमा सामान्य एउटा कर्मचारीको विषयलाई लिएर यसरी आन्दोलन गर्ने कुरा यो प्रणालीमाथि, यो संसदीय व्यवस्थामाथि, संसदीय गतिविधिहरूलाई यसरी अवरोध गर्ने कुराले गलत दिशातर्फ जान सक्छ, गलत राजनीतिक नजिरहरू बस्न सक्छ, भन्ने कुरामा यो चार दिनको बिचको समयमा उहाँहरूले समीक्षा गर्नुहुनेछ । २० गतेदेखिको बैठकलाई सहज ढङ्गले लैजानका लागि उहाँहरूले वातावरण बनाउनुहुनेछ भन्ने त्यो भरोसा, विश्वास गर्न सकिन्छ ।”
प्रतिक्रिया