काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सदन अवरोध यथावत् राख्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निचोड निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
‘छानबिन माग गरेको हो । गृहमन्त्री दोषी कसैले भनेको छैन,’ पार्टीको तर्फबाट धारणा राख्ने क्रममा उनले भने, ‘तर छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’
कर्मचारीको अस्वाभाविक सरुवा लगायतका प्रक्रियाले पनि गृहमन्त्री लेखकलाई विवादमा तानेको उनले बताए ।
‘गृहमन्त्रीले पठाएको बदनाम सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयका मान्छे यस्तै केसमा परेकाहरू हुने, फेरि सरुवा गर्ने जस्ता अस्वभाविक प्रक्रियाहरुले उहाँलाई पनि यो विवादमा तानेको छ,’ उनले भने ।
उनका अनुसार, मंगलबार सदन बैठक बस्नुअघि विपक्षी दलको बैठक बस्नेछ ।
प्रतिक्रिया