सभामुखले गरे सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल

सभामुखले गरे सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न पहल गरेका छन् ।

सभामुख घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ ।

साथै सभामुख घिमिरेले नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग पनि कुराकानी गरिरहेका छन् ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि उक्त समयमा बैठक बस्न सकेको छैन ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् भने सत्तापक्ष भने यस विषयमा गृहमन्त्रीले सदनमा जबाफ दिन पाउनुपर्ने बताइरहेका छन् ।

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबिच अहिले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बसिरहेको छ ।

त्यो बैठकले के धारणा बनाउँछ भनेर सभामुख सभा सञ्चालनका लागि कुरेर बसिरहेको सभामुखको सचिवालयले जानकारी दिएकाे छ ।