राजा फर्काउने आन्दोलन कोणसभामा रुपान्तरण

राजा फर्काउने आन्दोलन कोणसभामा रुपान्तरण



काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि सुरु भएको आन्दोलन पाँच दिनपछि कोणसभामा रुपान्तरण भएको छ । राजसंस्था पुनस्थापनाका लागि पूर्वपञ्च नवराज सुवेदीको संयोजनमा संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । राजसंस्था पुनस्थापनाको एजेन्डा बोक्ने राजनीतिक दललाई बाइपास गरेर गठन भएको उक्त समितिले जेठ १५ गतेबाट ‘निर्णायक’ भनिएको आन्दोलन सुरु गरेको थियो ।

जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइन्छ । गणतन्त्र अन्त्य र राजसंस्था पुनस्थापना गर्न उनीहरुले जेठ १५ बाट आन्दोलन सुरु गर्ने निर्णय गरेका थिए । तर आन्दोलन सुरु भएको ५ दिनमै जनसहभागिता घटेर कोणसभामा रुपान्तरण भएको छ ।

समितिको आह्वानमा जेठ १५ गते चक्रपथ क्षेत्रमा विशाल -याली आयोजना गरेको थियो । उक्त दिन नेकपा एमालेले गणतन्त्र दिवस मनाउने कार्यक्रम आयोजना गरेकाले राजावादीको आन्दोलनलाई प्रशासनले चक्रपथ क्षेत्रमा सीमित गरेको थियो । एमालेको भन्दा राजावादीको आन्दोलनमा जनसहभागिता विशाल देखिन्थ्यो । आन्दोलनको पहिलो दिन देखिएको जनसहभागिताले राजावादीहरुलाई उत्साह भरिदिएको थियो ।

जेठ १६ गते माइतीघर र विजुली बजार क्षेत्रमा आन्दोलन आह्वान गरिएको थियो । उक्त क्षेत्रमा राजावादीको आन्दोलन खासै जम्न सकेन । कार्यालय समयमा सडक केही समय अवरुद्ध भए पनि आन्दोलनको कुनै प्रभाव देखिएन । शनिबार सरकारले नारायणहिटी राजदबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि राजावादीहरुको आन्दोलन यातायात व्यवसायी महासंघको विरोधसभामा मिसिन पुग्यो ।

नारायणहिटी, माइतीघर र विजुलीबजार क्षेत्रमा आन्दोलन गर्न नपाएपछि राजावादीहरु आइतबार नारायणचौरमा भेला भएको थिए । उक्त आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालगायत केही राजावादी पक्राउ परेका थिए । स्थानीय प्रशासनले उनीहरुलाई पक्राउ परेकै साँझ छोडेको थियो ।

जेठ १९ गते राजावादीहरु सडकमा निस्केनन् । स्वर्गीय राजा वीरेन्द्रको बंश विनास भएको दिनको स्मरण गर्न त्यस दिन उनीहरु सडकमा निस्केनन् । आज २० गते मंगलबार उनीहरुले सिफलको चौरमा आन्दोलनको कार्यक्रम राखेका थिए । आन्दोलनमा खासै जनसहभागिता जुट्न नसकेपछि कोणसभामा रुपान्तरण भएको थियो । केही वक्ताले बोलेपछि मानिसहरु तितरबितर हुन थाले ।

बर्खा लागेकाले आन्दोलन स्थगन हुन सक्ने राप्रपा नेपालका एक केन्द्रीय सदस्यले बताए । छिट्टै नै जनआन्दोलन संयोजन समितिले आन्दोलन स्थगित भएको औपचारिक घोषणा गर्नेछन्’ ती सदस्यले भने, ‘मनसुन भित्रिसकेको छ, खेतीपातीको सिजन सुरु भयो । यो परिवेशमा राजसंस्था पुनस्र्थापनाको आन्दोलन उपयुक्त हुँदैन ।’