प्रतिनिधिसभा बैठक आज पनि स्थगित, अब बिहीबार १ बजे बस्ने

प्रतिनिधिसभा बैठक आज पनि स्थगित, अब बिहीबार १ बजे बस्ने



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार मात्र बस्ने भएको छ । संघीय संसद्‍ सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक ३:१५ बजेका लागि सरेको थियो ।

बुधबार निर्धारित समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको थियो । परिवर्तित समयमासमेत बैठक बस्न नसकेपछि बिहीबारका लागि सरेको संघीय महासचिव पाण्डेले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

प्रतिपक्षी र सत्ता पक्षका दलबिच पर्यटन भिसा प्रकरणमा कुरा नमिल्दा संसद अवरुद्ध हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दलको अडानमा सत्ता पक्षले सहमतिको प्रयास गरे पनि सहमति हुन सकेको छैन ।

पर्यटन भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।