केपी ओली मेरो राजनीति सिध्याउन लागे : माधव नेपाल

केपी ओली मेरो राजनीति सिध्याउन लागे : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन् ।

अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि रौतहटका सञ्चारकर्मीहरूले सोधेको प्रश्नको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।

‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो,’ उनले भने, ‘पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि यस्तो प्रतिक्रिया आएको हो ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

त्यसैगरी समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अत्यन्त दुःखद भनेर प्रतिक्रिया दिए । ‘यो घटनाबारे भर्खर सुनियो, यसबारेमा पार्टीभित्र पनि कुनै छलफल भएको छैन, घटनाक्रमको समग्र जानकारी पनि प्राप्त भैसकेको छैन । तर घटना धेरै दुःखद छ’, खनालले भने, ‘यसबारेमा सबै तथ्य बुझेर मात्र प्रतिक्रिया दिनु उपयुक्त छ ।’

उनले नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । ‘के भएको हो ? कसो हो ? पूर्वाग्रह हो वा अन्य केही छ तर पूर्व प्रधानमन्त्रीमाथि मुद्दा लागेको घटना नेपालकै इतिहासमा यो पहिलो हो’, खनालले भने, ‘विषय बडो गम्भीर हो । यस्ता कुरामा हचुवामा टिका टिप्पणी गर्नु राम्रो होइन ।’

उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताए ।

‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, यसको कानुनी पक्ष छ । राजनीतिक प्रतिशोध साधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं,’ भुसालले भने ।