काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पताञ्चलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछि देउवाले भएको के हो भन्दै आफूलाई फोन गरेपछि आश्चर्यमा परेको प्रचण्डले बताए ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले देउवाले फोन गरेपछि मुद्दा दर्ता गर्ने सल्लाह नभएको रहेछ भन्ने आफूलाई लागेको बताए ।
उनले भने, ‘देउवाजी झूट चाहिँ बोल्नुहुन्न । हिजो फोन गर्नुभएको थियो । माधवमाथि जुन मुद्दा दर्ता भयो, त्यस विषयमा उहाँ आफैँले मलाई सोध्नुभयो, के भएको हो ? अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि त आश्चर्यमा परेँ म ।’
देउवाले सोधेपछि सत्तारुढ दलको ठूला नेता तपाईं भन्दै अलिअलि ठट्टा पनि भएको प्रचण्डले बताए ।
उनले प्रधानमन्त्री केपी ओलीले प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोपसमेत लगाएका छन् । त्यसो त सदनको अवरोध हटाउने विषयमा पनि देउवासँग प्रचण्डले छलफल गर्दैछन् ।
प्रतिक्रिया