सक्रिय राजनीतिमै छु, एमाले अध्यक्ष बन्ने विषयमा समय आएपछि भन्छु : पूर्वराष्ट्रपति भण्डारी

सक्रिय राजनीतिमै छु, एमाले अध्यक्ष बन्ने विषयमा समय आएपछि भन्छु : पूर्वराष्ट्रपति भण्डारी



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन् । विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरमा शुक्रबारदेखि सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक भविष्यको बारेमा सोधिएको प्रश्नमा भण्डारीले अहिले पनि सक्रिय राजनीतिमा रहेकाे बताइन् ।

“पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउनुभयो, तपाईं के गर्दै हुनुहुन्छ ?” भन्ने पत्रकारको जिज्ञासामा भण्डारीले भनिन्, “म अहिले पनि सक्रिय राजनीतिमा छु ।”

एमालेको अध्यक्ष बन्ने विषयमा भने समय आएपछि जवाफ दिने बताइन् । राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा राजनीतिक दलहरूले महिलाहरूको प्रतिनिधित्व घटाएको गुनासो गरिन् । उनले महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले गम्भीर ध्यान दिनुपर्ने सुझाव दिइन् ।

महिलाले जितेका धेरै स्थानीय तहमा धेरै राम्रो विकास भएको तर्क गर्दै भण्डारीले स्थानीय जनप्रतिनिधिले जनताको वितृष्णा चिर्न गतिशील भएर काम गर्नुपर्ने सुझाव दिइन् ।

पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्र शासनपद्धति मात्र नभइ जीवन पद्धति बनिसकेको बताइन् ।