ओलीजी कुर्सी नछोड्ने, छोड्नु पर्‍यो भने भाँचिदिने : प्रचण्ड

ओलीजी कुर्सी नछोड्ने, छोड्नु पर्‍यो भने भाँचिदिने : प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमा कुर्सी पाएपछि नछोड्ने प्रवृत्ति रहेको बताएका छन् ।

उनले अर्को नेताका लागि खुसी भए कुर्सी राखिदिने र अलिकति केही भए कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको बताए ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले ओलीले पार्टीमा र सत्ता साझेदारसँग पनि त्यस्तै व्यवहार देखाउने गरेको बताए । “केपी ओलीजी खुसी हुनुभयो भने कुर्सी राखिहाल्नु हुन्छ, मन परेन भने कुर्सी नै भाँचिदिनुहुन्छ,” प्रचण्डले भने, “यो उहाँमा पहिलेदेखि रहेको प्रवृत्ति हो ।”

अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्रीमा प्रतिशोधको गन्ध रहेको आराेप लगाए । ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ’ उनले भने ।

उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए ।