काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै असन्तुष्ट तरुणले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन्। काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनपछि पार्टी केन्द्रीय कार्यालय पुगेको उक्त र्याली उग्ररुपमा प्रस्तुत भएको थियो ।
तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले विभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेका हुन्।
मोटरसाइकल चालकले हेलमेट नलगाएको, मोडिफाइ गरिएको मोटरबाइक र्यालीमा कुदाएको र ट्राफिक प्रहरी मुकदर्शक बनेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।
२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा ९ वर्ष बितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंगो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राईको भनाइ छ ।
उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ वर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अब म्याद थप गर्न नहुने धारणा राखे। उनीहरूले काँग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितिको माग गरेका छन्।
प्रतिक्रिया