काठमाडौं । सत्तापक्षले विपक्षीलाई पेलेर प्रतिनिधिसभा बैठक अघि बढाउने तयारी गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको र उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेर विपक्षी दलले १३ जेठयता संसद अवरोध गर्दै आएका छन् ।
आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकहरूको छलफलपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आए पनि नआए पनि संसद चल्ने बताए ।
‘उहाँहरूले असहयोग गरे अलिकति अप्ठ्यारो त होला तर संसद आजदेखि चल्छ । धेरै दिन भयो यसलाई लम्ब्याएर लान सकिन्छ । कति दिन लम्ब्याउने ? आजदेखि कार्यसूचीमा संसद प्रवेश गर्छ । आम जनतामा पनि राम्रो म्यासेज दिइराखेको छैन,’ उनले भने, ‘एकदमै निहुँ खोज्ने अर्गेल्याइँ गर्ने हिसाबले अपोजिसनका कुरा आएका छन् । सधैँ यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन । उहाँहरूले सहयोग गरे सुचारु हुन्छ । असहयोग गरे पनि व्यवधान त आउँछ तर संसद चल्छ ।’
त्यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरी संसद स्थगित गर्ने काम अब नहुने बताए ।
‘सूचना टाँस गरी बैठक स्थगित गर्ने उहाँहरूको कुरा आजसम्म मान्दै आयौँ । आज हिजोको निरन्तरता हुँदैन । हामी आजदेखि बैठक अघि बढाउन चाहन्छौँ । बजेटमाथिको छलफल आरम्भ हुन्छ, संघीय निजामती विधेयक टेबल हुन्छ । यसमा अपोजिसनले अवरोध गर्न खोज्नुहुन्न भन्ने लाग्छ । लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन’, बर्तौलाले भने ।
आइतबार गृहमन्त्री लेखकले संसदमा जवाफ दिने पनि उनले बताए ।
प्रतिक्रिया