काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेर हद फेल खाइसकेको बताएका छन् ।
अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहका पहिलो वक्ता विश्वकान्त मैनालीले ७० काटेर राजनीतिबाट सन्यास लिएको भनेपछि ओलीले अब त्यो फेल भइसकेको बताए ।
अध्यक्ष ओलीले चीन र साइप्रसका कम्युनिष्ट पार्टीले पनि उमेर हद हटाएको उदाहरण दिए । स्वास्थ्यले साथ दिएसम्म र कार्यक्षमता भएसम्म आवश्यकताका आधारमा नेतृत्व गर्न सकिने बताए ।
ओलीले भने, ‘विश्वकान्तजीले भन्नुभयो उहाँ अलि बुढो पनि हुनुभयो । अब एमालेमा ७० वर्ष उमेर फेल खाइसक्यो । म ७४ मा छु अब ४ वर्षअघि फर्किने कुरा भएन, ७० मा रिटायर्ड फेल खाएन त ? चीनमा २ पटकमात्र महासचिव र राष्ट्रपति बन्ने व्यवस्था थियो त्यो सी जिनपिङको पालामा निरन्तरताको आवश्यकता देखेपछि हटाइयो । उहाँ अहिले ७२ वर्ष भइसक्नुभयो । त्यहाँ ६५ वर्ष भनेको थियो, साइप्रसको कम्युनिस्ट पार्टीले पनि ६५ वर्ष उमेर हटायो । अब यसमा पार्टीेले आफ्नो आवश्यकता आधारमा निर्णय लिन्छ ।’
अध्यक्ष ओलीले उमेर हदका कारण माधव नेपाल र झलनाथलाई अध्यक्षबाट नहटाएको भन्दै आवश्यकता नभएपछि हटाइएको बताए । मनमोहन अधिकारी ७८ वर्षसम्म अध्यक्ष भएको उदाहरण समेत उनले दिए ।
‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै हुँदा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसुत्रको रुपमा हेर्ने होइन,’ ओलीले भने, ‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं । उमेर पुगेर बितेर जानुभयो । हामीले हटाएनौं ।’
प्रतिक्रिया