काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढीभन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
सोमबार आयोजित संघीयतामा बजेटसम्बन्धी कार्यक्रममा उनले अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताए ।
स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको उनले बताए ।
‘अधिकारको बाँडफाडदेखि अरु थ्रुपैमा पुनरावलोकन जरुरी छ। विशेषतः स्थानीय र प्रदेशलाई कसरी अझ अधिकार सम्पन्न बनाउने त्यसमा पुनरावलोकन गर्नुपर्छ। पुनरावलोकन गर्ने भनेको मैले संघीयता खारेज भन्न खोजेको होइन । अहिलेको संघीयतालाई अझ प्रभावकारी बनाउने भनेको हो। स्थानीय तह, प्रदेशलाई बढी भन्दा स्रोत साधन सम्पन्न बनाउने, कार्यान्वयन गर्ने क्षमता पनि उसको बढाउँदै जाने केन्द्रले बढी नीति र महत्वपूर्ण कामको जिम्मा लिनुपर्छ। अरु बिस्तारै हस्तान्तरण गर्दै जानुपर्छ,’ उनले भने, ‘स्थानीय तहको ७५३ ओटा संख्या ज्यादा भयो । यसलाई घटाउन सकिन्छ भने घटाएर ५ सयको सेरोफेरोमा ल्याऔं बरु वडाहरूको संख्या बढाऔं भन्ने छलफल सुरू भइसकेको छ ।’
प्रतिक्रिया