देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाऔं : सभापति देउवा

देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाऔं : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइसराइ गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सबै भूभागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका हुन् ।

सभापति देउवाले जलवायु परिवर्तनका असर सबै भन्दा बढी नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए ।

देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।सभापति देउवाले युवाहरू विदेश पलाएन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिए ।