विराटनगर । सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना पति मदन भण्डारी जन्मिएको घरमा पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माको आलोचना गरेकी छन् । पति मदन भण्डारी जन्मिएको घरको संरक्षणमा ध्यान नदिएको भन्दै उनले एमाले अध्यक्ष ओलीलगायत नेतृत्वको आलोचना गरेकी हुन् ।
एमाले नेता विनोद ढकालका अनुसार भण्डारीले पटकपटक सरकारमा सहभागी भएर पनि पार्टी जन्माउने घरलाई चरम बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिन् । ‘पार्टी पटकपटक सरकारमा गयो । धेरै नेता प्रधानमन्त्री र मन्त्री पनि बन्नुभयो’, उनको भनाइ उद्धृत गर्दै एमालेका स्थानीय नेता एमाले मोरङका सचिव सोमराज थापाले भने, ‘मदनको घरको संरक्षण र यो गाउँको विकासमा नेताहरुले ध्यानै दिएनन् ।’
पूर्वक्षेत्रमा राजनीतिक भेटघाट र कार्यक्रममा व्यवस्त उनी हिजो सोमबार मोरङको रतुवामाई नगरपालिका–१० सातमेडीस्थित मदनको घर पुगेकी थिइन् । आफू ९ वर्षपछि घर पुगेको उनले बताइन् । भण्डारीको स्थानीय एमाले कार्यकर्ता र आफन्तले स्वागत गरेका थिए । उनले केही समय आफन्तसँग भलाकुसारी गरिन् । त्यस क्रममा मदन भण्डारी सम्झिएर उनी केही भावुकसमेत भइन् ।
प्रतिक्रिया