विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति हुनुभन्दा पहिला एमाले भएकाले कार्यकर्ताहरूसँग भेटघाट गर्न कसैको अनुमति लिइरहनु नपर्ने बताएकी छन् ।
मंगलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेका धेरै नेता तथा कार्यकर्तासँग सम्पर्क भएकाले भेटघाट गरिरहेको बताइन् ।
उनले आफूले संगठित सदस्यता नलिँदैदेखि नै काम गरेको पार्टी एमाले भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन् ।
भण्डारी झापामा भएको बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको नाम नलिई टिप्पणी गरेका थिए । सोही विषयमा पत्रकारले राखेको जिज्ञासामा भण्डारीले ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले पनि एमालेमा काम गरेको दाबी गरिन् ।
‘मेरो चिनजान ठूलो छ, देशैभरि कार्यक्रममा खोज्नुहुन्छ। मैले पनि समाजसँग साक्षात्कार गर्नुपर्यो, नयाँ पुस्ताको कुरा बुझ्नु पर्यो । त्यो हिसाबले मैले कतै जाँदा एमालेको कमिटी वा कसैसँग अनुमति लिइराख्नु पर्दैन,’ उनले भनिन् ।
उनले आफूले कुनै गुटको राजनीति नगरेको समेत बताइन् । उनले जहाँ जसरी हुन्छ काम गर्ने बताइन् ।
तपाईंको राजनीतिक सक्रियतालाई अध्यक्ष ओलीले नरूचाउनु भएको हो ? भनेर पत्रकारहरूले साेधेका थिए । जबाफमा भण्डारीले ओलीको अभिव्यक्ति आफूतिर लक्षित होला भन्ने नलागेको बताइन् ।
‘एमालेका अध्यक्षले मैतिर ताकेर भनेको हो जस्तो लाग्दैन । किनभने, मेरो व्यक्तिगत आकाङ्क्षा केही छैन । अध्यक्षले बरू कार्यकर्ताहरूलाई महाधिवेशनअघि नेतृत्वको चिन्ता नगर, हामी मिलाउँछौं भन्नुभएको होला ।’
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको भावी अध्यक्षको रूपमा नेकपा (एमाले) भित्र चर्चा हुने गरेको छ ।
प्रतिक्रिया