नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट पारित

नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट पारित



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।

समितिबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए ।

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको बताए ।

गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको उनले बताए ।

उनले गैर आवासीय नेपालीका बिषयमा छुट्टै विधेयक ल्याउन लागिएको धारणा राखे । गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न विधेयकले थप सहजीकरण गर्ने उल्लेख गरे ।

नागरिकता वितरणका कानूनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो ।