काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा आज मुद्दा दर्ता गरेको छ ।

परियार अहिले सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा छन् । त्यसैगरी काठमाडौं महानगरपालिकाका निर्देशकद्वय रबीनमान श्रेष्ठ, बसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जर्नादन गिरीलाई अख्तियारले मुद्दा दर्ता गरेको हो । अख्तियारले चार करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

काठमाडौं महानगरपालिकाले सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मकाे ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड नाै लाख २२ हजार तीन सय २५ रुपैयाँ कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार छ सय १२ रुपैयाँ कबोल गरेको थियो ।

ठेक्का प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार दुई सय ३७ रुपैयाँ दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो ।

त्यही उजुरीका आधारमा गरेको अनुसन्धानबाट भ्रष्टाचार हुन गएको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।