भिजिट भिसा प्रकरणको छलफलमा एमाले काँग्रेससँगै छ : योगेश भट्टराई

भिजिट भिसा प्रकरणको छलफलमा एमाले काँग्रेससँगै छ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दुई मुख्य दल नेकपा एमाले र नेपाली काँग्रेस सँगसँगै छलफलमा भएको बताएका छन् ।

बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विपक्षी दलहरूले ल्याएको सहमतिको बुँदामा काँग्रेस र एमाले सँगै रहेको बताए ।

‘मिड प्वाइन्ट आइसकेको छ । माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र समाजवादीको बीचमा दुई बुँदे प्रस्ताव जुन माओवादीकै साथीहरूले ड्राफ्ट गरेर पठाउनुभएको थियो,’ भट्टराईले भने, ‘त्यसमा भावनात्मक हिसाबले त्यही ठाउँमा छौँ भनेका छौँ । त्यो मिड पोइन्ट हो ।’

भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । तर, राजीनामा नदिने गृहमन्त्रीको अडानपछि सत्ता र विपक्षी दलहरू सहमतिको विन्दु खोज्दै निरन्तर वार्ता गरिरहेका छन् ।

अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने उनले बताए ।