काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि भेट भएको छ ।
महानगरका प्रवक्तासहित तीन वडाध्यक्षसँगै मेयर र उपमेयरबीच भेटवार्ता भएको हो । बुधबार (जेठ २८) राष्ट्रिय सभागृहमा उनीहरूबीच भेटवार्ता भएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
काठमाडौं–३२ का अध्यक्ष नवराज पराजुली र वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोल पनि बैठकमा सहभागी थिए ।
महानगर स्रोतका अनुसार, सुरुमा मेयर, उपमेयर र तीन वडाध्यक्षबीच भेटवार्ता भएको थियो । त्यसपछि बुधबारै अपराह्न करिब ४ बजेतिर मेयर र उपमेयरबीच छुट्टै भेटवार्ता भएको थियो । आज पनि उनीहरूबीच भेटवार्ताको तयारी छ ।
वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।
‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन,’ महानगरका एक वडाध्यक्षले भने ।
काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।
प्रतिक्रिया