काठमाडौं । स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे ।
नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्याण्डसँग एक खेलमा २ रनले पराजित हुँदा एक खेलमा विजयी भएको थियो ।
त्यस्तै टी-२०आई शृंखलामा नेपालले ४ मध्ये २ खेल जित्यो । दुवै टोलीलाई एक-एक पटक हराउँदा एक-एक पटक पराजित पनि भयो ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले स्कटल्याण्ड सिरिजमा टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेलेको बताएका छन् । आइसीसी लिग–२ र टी–२०आई खेलेर स्वदेश फर्किएका कप्तान रोहितले युकेमा गरेको तयारीले सिरिजको प्रर्दशनमा सहयोग पुगेको बताए ।
‘स्कटल्याण्ड कन्डिसन त्यति सजिलो थिएन । टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेल्यौं,’ उनले भने, ‘जुन हिसाबले हाम्रो तयारी थियो १० दिनअघि युकेमा गएर । त्यसले पनि एकदमै सहयोग गर्याे । सबै खेलाडीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो ।’
नयाँ प्रशिक्षक आएपछि वातावरण एकदमै पोजेटिभ भएको रोहितले बताए । उनले बलियो टोलीसँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकाल्दा आगामी खेलका लागि कन्फिडेन्स बढेको बताए ।
‘त्यो कन्डिसनमा गएर ३ जित निकाल्नु सजिलो थिएन हाम्रो लागि । यो कन्फिडेन्स आएको छ टिममा । नेदरल्याण्ड्स र स्कटल्याण्ड टप टिम हुन् । उहाँहरुलाई हराउँदा ग्रुपलाई धेरै कन्फिडेन्स आउँछ । आउने खेल तथा सिरिजमा त्यसले सहयोग गर्छ,’ उनले भने ।

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई सुपर ओभरमा पुर्याएका नन्दन यादवले आफूहरु अनलक्की हुँदा सुपर ओभरमा हार्नुपरेको बताएका छन् ।
‘सायद छक्का गएको भए जित्थ्यौं होला । मेरो हात त्यस्तो राम्रो थिएन । अलि पावर लगाउन सकिन त्यो बलमा । नत्र छक्का हुन्थ्यो होला,’ उनले भने ।
उनले अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । उनले अन्तिम ४ बलमा १२ रन प्रहार गरेका थिए । उक्त खेलमा तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।


प्रतिक्रिया