काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले गाडीको टायर र सडकबीचको घर्षणबाट उत्पन्न हुने ऊर्जालाई सङ्कलन गरी सफा बिजुलीमा रूपान्तरण गर्न सक्षम एक उपकरण विकास गरेको छ ।
रोडबेड ट्राइबोलोजिकल इनर्जी हार्भेस्टर भनिने यो उपकरणले ऊर्जा सङ्कलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
यो प्रविधिले एउटा गाडीको टायर र सडकबीचको अन्तरक्रियाबाट वार्षिक शून्य दशमलव तीन टेरावाट ऊर्जा उत्पन्न गर्न सक्छ । यस प्रकारको ऊर्जा सङ्कलनले स्मार्ट यातायात र सडक व्यवस्थापन प्रणालीलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
चीनको विज्ञान र प्रविधि एकेडेमी अन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ नानो ऊर्जा र नानो प्रणालीका अनुसन्धानकर्ताहरूले सडकको आधारमा ऊर्जा सङ्कलन गर्नसक्ने यन्त्र तयार गरेका हुन् । यस यन्त्रले एकल टायरको प्रभावबाट १६ दशमलव ४ मिलिवाटको अधिकतम पावर उत्पादन गर्न सक्छ । यसको ऊर्जा रूपान्तरण क्षमता ११ दशमलव ७ प्रतिशत छ ।
यस यन्त्रको लागत केवल ७१ दशमलव ३ अमेरिकी डलर प्रति वर्गमिटर रहेकोले यसलाई विश्वभरका सडक सञ्जालहरूमा प्रभावकारी रूपमा लागू गर्न सकिने खबरमा उल्लेख छ ।
प्रतिक्रिया