काठमाडौं । एप्पलले आफ्नो नयाँ स्मार्टफोन श्रृंखला आइफोन १७ सिरिज सन् २०२५ को सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ। एप्पलले परम्परागत रूपमा सेप्टेम्बरको दोस्रो साता नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ। लन्च हुनुअघि नै यसको बारेमा विभिन्न प्राविधिक विश्लेषकहरूले जानकारी दिएका छन्, जसले बजारमा उत्साह बढाइरहेको छ।
यस पटक एप्पलले चारवटा मोडल सार्वजनिक गर्ने योजना बनाएको छ। यीमध्ये स्ट्यान्डर्ड आइफोन १७, नयाँ थपिएको आइफोन १७ एयर, उच्च क्षमतायुक्त आइफोन १७ प्रो, र शीर्ष मोडल आइफोन १७ प्रो म्याक्स समावेश छन्। प्रारम्भिक अनुमान अनुसार,स्ट्यान्डर्ड आइफोन १७ को मूल्य भारतीय बजारमा ₹८९,९०० हुने बताइएको छ (नेपाली बजारमा यसको मूल्य झन्डै रु. १,४३,८४०)।
आइफोन १७ एयरको मूल्य लगभग ₹९९,९०० हुने अनुमान गरिएको छ (नेपाली बजारमा झन्डै रु. १,५९,८४०)।
त्यसैगरी, आइफोन १७ प्रोको मूल्य ₹१,३९,९०० (नेपाली बजारमा झन्डै रु. २,२३,८४०) र
आइफोन १७ प्रो म्याक्सको मूल्य ₹१,६४,९०० (नेपाली बजारमा झन्डै रु. २,६३,८४०) हुने अपेक्षा गरिएको छ।
एप्पलले आइफोन १७ सिरिज सन् २०२५ को सेप्टेम्बर ९ मा लन्च गर्ने सम्भावना छ। चारवटै मोडलमा २४ मेगापिक्सलको फ्रन्ट क्यामेरा हुनेछ। प्रो र प्रो म्याक्समा ४८ मेगापिक्सलको टेलिफोटो लेन्स, तेर्सो ट्रिपल क्यामेरा र ३.५x अप्टिकल जुम दिइनेछ।
प्रो मोडलहरूमा नयाँ ए१९ प्रो चिप र १२ जिबी र्याम हुनेछ, जसले गति, ब्याट्री र एआई कार्यमा उल्लेखनीय सुधार ल्याउनेछ। स्ट्यान्डर्ड र एयर मोडलमा ए१८ चिप प्रयोग हुनेछ।
डिजाइनमा एल्युमिनियम–ग्लास बडी, नयाँ क्यामेरा बम्प र लोगोको स्थान परिवर्तन हुने अनुमान छ। साथै, सबै मोडलमा एप्पलकै वाइ–फाइ ७ चिप प्रयोग हुनेछ।
यो सिरिजलाई एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र प्रविधियुक्त फोन मानिएको छ।
प्रतिक्रिया