रसुवा बाढी अपडेटः १५ जना सम्पर्कविहीन, ९ को सकुशल उद्धार, दर्जनौं इभी बगायो

रसुवा बाढी अपडेटः १५ जना सम्पर्कविहीन, ९ को सकुशल उद्धार, दर्जनौं इभी बगायो

काठमाडौंमा थिए रसुवाका सीडीओ र डीएसपी


ग्लोब नेपाल
1.1k
Shares

रसुवा । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिए ।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।

काठमाडौंमा थिए रसुवाका सीडीओ र डीएसपी
चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्‍याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा रहेको पाइएको छ । गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए ।

सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएको छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।