सेयर बजारमा हरियाली, नेप्से ३४ अंकले उकालो

सेयर बजारमा हरियाली, नेप्से ३४ अंकले उकालो



काठमाडौं । साताको कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अंकले वृद्धि भई २७६०.१७ बिन्दुमा पुगेको छ।

आज बजारमा कुल ९ अर्ब ४१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर मूल्यमा सुधार देखिँदा अधिकांश कम्पनीहरू सकारात्मक क्षेत्रमा देखिए। कुल कारोबारमा आएका कम्पनीहरूमध्ये २०९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको सेयर घटेको छ।

समूहगत परिसूचकतर्फ हेर्दा सबै समूहहरू हरियो क्षेत्रमा रहे, जसमा सातवटा समूहले १ प्रतिशतभन्दा बढी वृद्धि गरेको र बाँकीले सानो वृद्धिदर देखाएका थिए।

यद्यपि बजारमा व्यापक सुधार भए पनि कुनै कम्पनीमा सर्किट ब्रेकर लागू हुने अवस्था देखिएन।
सबैभन्दा बढी वृद्धि सुपर मादी हाइड्रोपावर को सेयर मूल्यमा देखियो, जसले ८.०८ प्रतिशत ले मूल्य वृद्धि गर्‍यो।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रपंक्तिमा रह्यो, जसको कारोबार ५२ करोड ३२ लाख रुपैयाँ पुगेको छ।