नेप्से चार वर्षयताकै उच्च बिन्दुमा

नेप्से चार वर्षयताकै उच्च बिन्दुमा



काठमाडौँ । शेयर बजार आज पनि हरियाली भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.७६ अङ्कले वृद्धि भई ३,०२.०७ विन्दुमा पुगेको छ, जुन पछिल्ला झन्डै चार वर्षयताकै उच्च विन्दु हो।

२०७८ साल भदौ १३ गते नेप्से ३,०४५ विन्दुमा पुगेको थियो भने भदौ २ गते ३,१९८ विन्दुसँग कीर्तिमान कायम भएको थियो। त्यसयता पहिलो पटक नेप्से फेरि ३ हजारको स्तर पार गरेको हो।

आजको कारोबारमा विकास बैंक, फाइनान्स, र व्यापार समूह बाहेक सबै उपसूचक हरियो रहे। अन्य समूहको सूचकमा सबैभन्दा धेरै २.५८ प्रतिशतको वृद्धि देखिएको छ।

यस दिन मुक्तिनाथ एग्रो, ट्रेड टावर, सान्भी इनर्जी, र नदीप लघुवित्त कम्पनीका शेयर मूल्य १० प्रतिशतले उकालो लागेका छन्। विपरित, समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे ८ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से सूचक बढे पनि कुल कारोबार रकममा भने केही कमी देखिएको छ। हिजो १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२१ कम्पनीका ४ करोड १८ लाख कित्ता शेयर किनबेच भई १८ अर्ब ५२ करोड रुपैयाँमा सिमित भयो।

यसैबीच, बजार पूँजीकरण अर्थात् लगानीकर्ताको कुल सम्पत्ति ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो।