काठमाडौं । अस्ट्रेलियामा अर्को हप्ता शुरू हुने टप इण्ड टी– २० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले हिजो रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
यसअघि टी २० टिमबाट हटाइएका कुशल मल्लले कमब्याक गरेका छन् । स्कटल्यान्डमा भएको त्रिदेशीय टी २० आई सिरिजका टोलीमा रहेका किरण कुमार ठगुन्ना, बसिर अहमद र अनिल साह टोलीमा छैनन् ।
एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको सिकागो किङ्ग्सम्यान अन्तर्राष्ट्रिय टोलीका रुपमा रहेका छन् ।
नेपालले पहिलो खेल साउन ३० गते नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने छ । यस्तै ३१ गते बङ्गलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेलवर्न स्टारको एकेडेमी टोलीसँग २ भदौ गते हुनेछ । चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग भदौ ३ गते खेल्नेछ ।
पाँचौं खेल भदौ ४ गते मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेल भदौ ६ गते पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूह चरणमा ६ वटा खेल खेल्नेछ ।
लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल भदौ ८ गते हुनेछन् ।
नेपाली टोली
रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी



प्रतिक्रिया