काठमाडौं । देशभर मनसुनजन्य विपद्को जोखिम बढेकोले ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्देशन दिएका छन् ।
मंगलबार बिहान शहरी विकास मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
बैठकमा खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’मा रहन र कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन निर्देशन दिएका थिए । साथै उनले सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए ।
बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।
बैठकमा आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेकोबारे पनि जानकारी गराइएको छ । यस्तै पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आकलन गरिएको छ ।
बैठकमा मनसुन सक्रिय हुन थालेको अवस्थामा बाढी पहिरो लगायतका मनसुनजन्य विपद्को जोखिम उच्च भएकाले धनजनको क्षती हुन नदिन कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएर सरोकारवाला निकायलाई सतर्क र तयारी अवस्थामा रहन निर्देशन दिए ।


प्रतिक्रिया