दोस्रो संस्करणको एनपीएल क्रिकेटका लागि आज अक्सन

दोस्रो संस्करणको एनपीएल क्रिकेटका लागि आज अक्सन



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलाडी छनोटका लागि आज अक्सन हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज दिउँसो तीन बजेदेखि अक्सन शुरू हुनेछ । यो अक्सनका लागि एक सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ ।

यसअघि चार सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।

एनपीएलमा आठ टोली छन् । ती टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूचीमा खेलाडी समावेश गरिएको क्यानले जनाएको छ ।

खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । श्रेणी ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ तथा ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।

यसपटक टिमहरुले आवश्यकताअनुसार जुनसुकै ग्रेडको खेलाडी पनि खरिद गर्नसक्ने छन् । हरेक टिमले अधिकतम ९० लाख खेलाडी खरिदमा खर्च गर्न पाउँछन् ।

क्यानसँगको सम्झौताअनुसार रिटेन भएका खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि हुनेछ । रिलिज भएका र नयाँ खेलाडीको हकमा भने न्यूनतम मूल्य ग्रेड ‘ए’ मा रहेका खेलाडीको १० लाख ‘बी’ मा रहेका खेलाडीको ५ लाख र ‘सी’ मा रहेका खेलाडीको २ लाख कायम गरिएको छ ।