काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा शुक्रबार अलस्कामा भेटवार्ता हुँदैछ । लामो समयदेखि जारी रुस-युक्रेन युद्ध अन्त्यका लागि यसलाई शान्ति वार्ताको रुपमा लिइएको छ ।
पुटिनले वार्तामा सकेसम्म धेरै भू-भागको चाहना गरेका छन् । यसैगरी, ट्रम्पले अन्तर्राष्ट्रिय दबाबको सिर्जना गर्दै रुसलाई युद्ध विराम गर्न बाध्य बनाउने प्रयास गर्ने छन् ।
ट्रम्प र पुटिनको वार्ता अलास्कामा हुन लागेको हो । अलास्का १९ औँ शताब्दीमा रुसले अमेरिकालाई बेचेको थियो । अहिले युक्रेनका डोन्सटक, लुहान्सक, झाम्पोझारिया र खेर्सनका धेरै भूभाग रुसले कब्जामा लिइसेकेको छ । यो वार्तामार्फत् ती प्रान्तमा युक्रेनकै अधीनमा रहेका भूमि पनि रुसले आफू लिन चाहन्छ । युक्रेनका लागि यो अस्वीकार्य हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेको सबै जमिन दिन आफू तयार नभएको बताइसकेका छन् । अमेरिका सहमत भइसकेको विषयमा जेलेन्स्की असफल भएमा युक्रेनलाई गरिएको सबै सहयोग रोक्का हुने त्रास पनि त्यत्तिकै छ । युक्रेनमा रहेको त्यसै त्रासको लाभ उठाउने प्रयास रुसको छ ।
यो वार्तामार्फत् रुस र अमेरिका बीचको आर्थिक सम्बन्ध पनि सुमधुर हुने सम्भावना देखिएको छ ।


प्रतिक्रिया