काठमाडौं । अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि टप एन्ड टी–२० प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ ।
पहिलो खेलमा नेपालले स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग आज प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ ।
यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ ।
डार्बिनको पिच नेपालको मैदानभन्दा भिन्न छ । यहाँको बाउन्स र सिम मुभमेन्ट ब्याटरका लागि नयाँ चुनौती हो । यसले नेपाली ब्याटरलाई परिस्थिति अनुसार आफ्नो प्रविधि र स्कोरिङ रणनीतिमा सुधार गर्न बाध्य बनाइरहेको छ ।
सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन् ।
सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ ।
यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ ।
टप एन्ड टी–२० नेपालका लागि विश्वकप छनोटअघि आत्मविश्वास बढाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने सुनौलो अवसर हो ।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ ।
नेपाली टीम
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम


प्रतिक्रिया