काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो ।
नेपालको जितमा नन्दन यादव नायक बने । तीन ओभर बलिङ गरेका नन्दनले १७ रन दिएर पाँच विकेट हात पारेका हुन् । त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे ।
होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १-१ विकेट हात पारे ।
यसअघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
नेपालले यसपछि भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।


प्रतिक्रिया