सम्झनामा बासुदेव दाइ

सम्झनामा बासुदेव दाइ



जाडोको मौसम सकिएर चैत्र टेक्दै थियो। बि.स. २०७८ साल फागुन २५ गतेको दिन—आज पनि म सम्झन्छु।

पूर्व–पश्चिम राजमार्गको नवलपुरबाट म अलिकति दक्षिणतिर, सदरमुकाम मलंगवा जाने बाटोतर्फ मोडिएको थिएँ। करिब २ किमीको दुरीमा एउटा वृद्धाश्रम छ। त्यहाँ जीवनका पछिल्ला समय बिताइरहेका करिब ५० जना वृद्ध–वृद्धाहरू यत्रतत्र बसेका देखिन्छन्।

यस संस्थाका संस्थापक हुनुहुन्छ आफ्नै जमानाका उद्भट क्रान्तिकारी बासुदेव शरण कोईराला। आज खबर पाएँ—उहाँको देहावसान भयो।

“त्यो जमाना पनि थियो, जब ‘म कहाँ छु’ भन्ने सूचना दिनेलाई ठूलो आर्थिक पुरस्कारको घोषणा गरिएको थियो। मेरो टाउकोमा मूल्य तोकिएको थियो। आज म यहाँ छु—वृद्धाश्रममा। कहिलेकाहीँ तपाईंहरू आउनु हुन्छ, बडो खुशी लाग्छ।” त्यस दिन म त्यहाँ पुगेको बेला भावविह्वल हुँदै बासु दाइले यी कुरा भन्नुभएको थियो। उमेर ९१ वर्ष पुगिसक्दा पनि उहाँ पूरा सचेत हुनुहुन्थ्यो। यद्यपि विभिन्न व्यथाले थलिनु भएको थियो। लामो समयसम्म मैले भनेका कुरा सुन्नुभयो।

कानूनले मलाई दलीय राजनीतिबाट बाहिर पारेको कुरा सुनेर उहाँ भन्नुभयो, “मैले कर्तव्य सम्झेर राजनीतिमा मेरो संलग्नताको अध्याय पूरा गरेँ। अब यो सानो संसार बनाएको छु। बौलाएका, खाना नपाएर रूखमुनी लडिरहेका, खोलामा गिट्टी कुट्दै बेहोस भएका वृद्धहरू यहाँ छन्। गिट्टी कुट्नेहरूले पनि त देशका लागि योगदान गरेका हुन्छन् नि! यिनीहरूले दुई गाँस खाना खाएर शान्तिसँग मर्न पाउनु पर्छ।”

“बुढो उमेर र अशक्त अवस्थाले मानिसलाई अनियन्त्रित पनि बनाउँछ। यस बेला भनेका कुरा मान्दैनन्, बढी अटेर गर्छन्। मन लागेको बोल्छन्। परिवार हराएका हुन्छन्—त्यही झझल्काले वृद्ध–वृद्धा उद्वेलित हुन्छन्।”

त्यसबेला ९१ वर्षीय बासु दाइ आफ्ना आश्रमका सहयात्री वृद्ध–वृद्धाहरूको स्वभावका बारेमा मलाई यसरी बताइरहनु भएको थियो, मानौँ कुनै भर्खरका युवा मनोविश्लेषकले उमेर ढल्केका मानिसहरूको समाजको सजीव चित्रण गरिरहेको हो।

बासु दाइको वृद्धाश्रममा रूपान्तरण भएको घरमा म कयौँ पटक बसेको छु। पञ्चायत कालका कठिन दिनहरूमा उहाँका अजस्र संघर्षको केही भाग म जान्दछु। त्यसबेला उहाँका कुरा सुन्दा–सुन्दा उहाँको आँखामा टिलपिल देखिएका अश्रुलाई लुकाउन खोजेको देख्दा, मेरो निराश मन पनि रोएको थियो।

उहाँमा मेरो प्रति विशेष स्नेह थियो। म राजनीतिबाट हटाइएकामा दुःखी हुनुभयो। जीवनलाई स–साना सार्थक कार्यहरूबाट अगाडि बढाउन उहाँले मलाई हौसला दिनुभयो। मलाई प्रेरित गर्ने व्यक्तिहरूमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो।

त्यो छोटो भेटमा हामीले अनेक स्मृतिहरू खोतल्यौँ, हाँस्यौँ, रमाइलो मान्यौँ। मैले श्रीमतीसँगै त्यहाँबाट बिदा हुँदा मेरा पाइलाहरू भुइँमा धसेझैँ लाग्यो। मनमा प्रश्न उठ्यो—अब कति वर्षसम्म प्रजातान्त्रिक आन्दोलनका यी धरोहरहरूसँग भेट्ने अवसर पाइने हो?

आज त्यो अध्याय सदाका लागि समाप्त भयो। हार्दिक श्रद्धाञ्जली बासु दाइ!