संसद्‌मा बोल्न पाउनु प्रधानमन्त्रीको अधिकार हो, रोक्दैनौं : सन्तोष परियार

संसद्‌मा बोल्न पाउनु प्रधानमन्त्रीको अधिकार हो, रोक्दैनौं : सन्तोष परियार



काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।

शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् ।

बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिष्कार नगर्ने बताए । सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने जिकिर गरे । आफूहरू संसद्‌मा आन्दोलनमै भए पनि कतिपय कामहरू ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

“हामी निरन्तर संसद्‌मा आन्दोलनमै छौँ । तर कतिपय गर्नुपर्ने कामहरूमा हामीले ख्याल पनि गरेका छौँ । भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले आसन्न उहाँको विदेश भ्रमणको बारेमा चर्चा गर्न खोज्नुभएको होला । त्यो उहाँको कुरा हो । सदनमा बोल्न पाउने उहाँको अग्राधिकार रहन्छ समय मागेपछि उहाँले बोल्नुहोला,” उनले भने ।

शनिबार चीन जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।