नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाखकाे भ्रष्टाचार मुद्दा दायर

नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाखकाे भ्रष्टाचार मुद्दा दायर



भैरहवा । रुपन्देहीकाे नापी कार्याल भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।

गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नापी अधिकृत यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

सार्वजनिक सेवामा प्रवेश गरेकाे २०५३ साल असार १३ गतेदेखि २०८१ साल असार १६ गतेसम्मकाे अवधिमा यादवले १४ कराेड ८३ लाख ५७ हजार ८ सय ८४ रुपैयाँ ५९ पैसा बराबरकाे खर्च तथा लगानी गरेकाे देखिन आएकाे आयाेगले जनाएकाे छ । यसमा क करोड ७९ लाख ६२ हजार ४ सय ४० रुपैयाँ ३९ पैसाकाे सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।

अख्तियारले स्राेत नखुलेकाे रकम बराबरकाे बिगाे मागदाबी कायम गर्दै मुद्दा दायर गरेकाे छ । नापी अधिकृत यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गायत्री, छोराहरू सुधान्सु र शुभमका नाममा राखेको पाइएकोले अख्तियारले उनीहरूलाई पनि प्रतिवादी बनाएकाे छ ।