काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा जित निकालेको छ । साउथ अस्ट्रेलियाविरूद्ध शनिबार भएको खेलमा नेपालले २ विकेटको जित निकालेकाे हाे ।
पहिले ब्याटिङ गरेको साउद अस्ट्रेलिया ४५ ओभरमा २४२ रनमा अलआउट भयो । उसका लागि हूगनबोइजेमले ५३ रन र ह्यारी मानेन्टीले ६३ रन बनाए ।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए । रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले १-१ विकेट लिए ।
२४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरे । उनले नटआउट १०१ रन बनाए । गुल्सन झाले ३६ रन र सोमपाल कामीले नटआउट ४० रन बनाए ।
यसअघि नेपालले बिहीबार खेलिएका दुई वटा टी-२० अभ्यास खेलमा पराजय भोगेको थियो । नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको थियो । यस्तै नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा जित निकालेको थियो ।
यसअघि टप एन्ड सिरिज खेलेको नेपालले अब स्वदेश फर्कनेछ । स्वदेश फर्किएपछि नेपाली टोलीले युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ । त्यसपछि नेपाली टोली विश्वकप छनोट खेल्ने ओमान जानेछ ।


प्रतिक्रिया