सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो हाम्रो पार्टीको आएको बताएका छन् ।
मधेश प्रदेशमा मधेशी दलहरुले साढे सात वर्षदेखि सरकारको नेतृत्व गरिसकेकोले अब नेतृत्व गर्ने पालो हाम्रो भएको उनले बताएका हुन् ।
राजविराजमा मंगलबार लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले सात प्रदेश मध्ये तीन काँग्रेस, तीन एमालेले लिने र मधेश प्रदेश मधेशी दलहरुलाई दिने केन्द्रमा भएको सत्ता गठबन्धनबीचको सहमति अनुसार यो प्रदेशमा मधेशी दलले नै सरकार बनाउने हुँदा अब नेतृत्व गर्ने पालो लोसपाको रहेको दावी गरे ।
“मधेश प्रदेशमा काँग्रेस–एमाले दुई ठुला दल मिलेर पनि सरकार बन्ने स्थिति छैन्, मधेशी दलको पनि साथ चाहिन्छ र मधेशी दलहरुले नेतृत्व गरिसकेको छ त्यसैले अवको पालो हाम्रो हो” अध्यक्ष ठाकुरले भने, “अहिले तत्कालै मधेश प्रदेशमा सरकार परिवर्तनको सम्भावना छैन्, तर, रुपन्देहीको उप–चुनाव पछि परिवर्तनको सम्भावना छ ।”
उनले केन्द्रमा दुई ठुला दलको बहुमतको सरकार रहेकोले २०८४ सम्म चल्ने बताउदै लोसपा सरकारमा रहेरै जनताको पक्षमा काम गर्ने स्पष्ट पारे ।


प्रतिक्रिया