किभ । रुसले पहिलो पटक युक्रेनको राजधानी किभस्थित मुख्य सरकारी भवनमाथि आक्रमण गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले फेसबुकमार्फत यो जानकारी दिँदै आक्रमणमा सरकारी भवनको छाना र माथिल्लो तलाहरूमा क्षति पुगेको बताएकी छिन् ।
किभका मेयर भिटाली क्लिच्कोका अनुसार, मध्य पेचेर्स्की जिल्लामा अवस्थित सरकारी भवनमा आगलागी ड्रोन आक्रमणका कारण भएको थियो । अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको उनले बताए ।
राजधानी किभका अन्य भागहरूमा पनि आक्रमण भएको छ, जसमा एउटा गोदाम, १६ तले आवासीय भवन र चारतले भवनलाई निशाना बनाइएको थियो । युक्रेनी अधिकारीहरूका अनुसार, राति भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रेहमा पनि आक्रमण तीव्र बनाएको छ ।
बीबीसीका अनुसार, आइतबार बिहान किभमा थुप्रै विस्फोटहरू भएका थिए, जसमा शहरको केन्द्रमा पनि एक विस्फोट भएको थियो। रुसले किभलाई क्रुज मिसाइलले पनि निशाना बनाएको बताइएको छ ।


प्रतिक्रिया