सामाजिक सञ्जाल प्रतिबन्धबारे ओली : देशलाई हेपेको कदापि सहन सकिँदैन

सामाजिक सञ्जाल प्रतिबन्धबारे ओली : देशलाई हेपेको कदापि सहन सकिँदैन



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई हेपेको कदापि सहन नसकिने बताएका छन् ।

ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ, सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन । अहिले केही मान्छेहरू विरोध मात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन् ।”

“कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठुलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ”, उनले भने ।

उनले भने, “अहिले चार जना मानिसको रोजगारी खोसिएको भन्दा देशको स्वाधीनता ठुलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ”, अध्यक्ष ओलीले भने ।