माइतीघरबाट बानेश्वरतिर अघि बढे जेन जी प्रदर्शनकारी

माइतीघरबाट बानेश्वरतिर अघि बढे जेन जी प्रदर्शनकारी



काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रेका जेन जी प्रदर्शनकारी नयाँ बानेश्वरतिर अघि बढेका छन् । बिहान ९ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन थालेका उनीहरू नयाँ बानेश्वरतिर अघि बढेका हुन् ।

एक प्रदर्शनकारीले बानेश्वरको एभरेस्ट होटलसम्म पुग्ने बताए । त्यहाँ पुगेर सभा गरी आजका लागि प्रदर्शन स्थगित गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदर्शनमा सहभागीहरु नारा लगाउँदै अघि बढेका हुन् ।

सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ । उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।

माइतीघरमा उनीहरूले ‘गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ’, ‘जाग लम्क चम्क है नौजवान हो’, ‘यो नेपाली शीर उचाली’ जस्ता देशप्रेमी गीतहरू बजाएर सँगसँगै गाएका थिए ।

सँगै ‘वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट’ जस्ता नाराहरू लगाएका छन् ।