सेनालाई राष्ट्रपतिको जवाफ : म राजीनामा दिन्न, बरू मलाइ मारी दिनुहोस्, त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस्

सेनालाई राष्ट्रपतिको जवाफ : म राजीनामा दिन्न, बरू मलाइ मारी दिनुहोस्, त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस्



काठमाडौं । सेनाले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन आग्रह गर्दै बाँकी सेनाले सम्हाल्ने प्रस्ताव गरेकाे सूचना बाहिरिएकाे छ । आग्रहपछि राष्ट्रपति पौडेलले सेनापतिलाई आफ्नो हत्या गर्न भनेको समेत दाबी गरिएकाे छ ।

वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको छलफलको सूचना चुहाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलको खोजी सुरू भएको छ ।

उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले गरेको प्रस्तावबारे लेखेका छन् । उनले बुधबार राष्ट्रपति पौडेलको उपस्थितिमा सुरक्षा प्रमुखहरूको बैठक बसेको र बैठकमा प्रधान सेनापति सिग्देलले राष्ट्रपतिसँग ‘राजीनामा दिन’ आग्रह गरेको दाबी गरेका छन् ।

सिग्देलले राष्ट्रपति पौडेललाई राजीनामा दिन आग्रहमात्रै नगरेर बाँकी सेनाले सम्हाल्ने अभिव्यक्ति दिएको पनि उनले जिकिर गरेका छन् ।

‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजीनामा दिने’ आग्रह गर्दै भने छन, ‘बाँकी हामी सम्हाल्छौँ,’ पत्रकार नेपालले लेखका छन्, ‘राष्ट्रपतिको जवाफ थियो : म राजीनामा दिन्न । बरू, तपाईंहरू मलाइ मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाई दिनुहोस् । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस् ।’

पत्रकार नेपालको यो एक्स समाज तरंगित बन्न पुगेको छ । उनकाे पोस्ट ‘भाइरल’ भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सेनासँग राष्ट्रपतिको पछिल्लो अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् ।

आन्दोलनकारी शीतलनिवास प्रवेश गरेपछि नेपाली सेनाले आफ्ना परमाधीपति पौडेललाई सुरक्षित स्थानतर्फ लगेको थियो । राष्ट्रपतिलाई सेनाले शिवपुरीमा रहेको आफ्नो ब्यारेकमा राखेको भनिए पनि औपचारिक रूपमा यसबारे केही जानकारी सार्वजनिक गरेको छैन ।

अहिले राष्ट्रपतिको अवस्थाबारे आमनागरिकले थाहा पाउनुपर्ने धेरैकाे माग छ ।

यसैबीच जेनजीका तर्फबाट बुधबार सेनापति सिग्देलसँग सैनिक मुख्यालयमा भएको छलफलमा सहभागी मध्येकी एक तनुजा पाण्डेयले पनि राष्ट्रपति पौडेललाई सार्वजनिक गरिनुपर्ने माग गरेकी छन्।

‘वार्ता छलफल जेजे हुन्छ, त्यो राष्ट्रपतिज्यू सँग हुनुपर्छ त्यो पनि राष्ट्रपति भवनमा नाकी कुनै सैनिक अड्डा ब्यारेक,’ उनले फेसबुकमा लेखेकी छन्, ‘आर्मी सुरक्षा र शान्ति कायमको लागि मात्र सीमित हुनुपर्छ । कुनै सत्ता बनाउने ढाल्ने खेलमा समावेश कदापि हुनु हुँदैन । हामी यो कुरा स्वीकार्नु हुँदैन । साथीहरु राष्ट्रपतिज्यूलाई सेनाले सार्वजनिक गरोस्। राष्ट्रपतिज्यू सँग हुनु पर्छ संवाद ।’