काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौं उपत्यकासहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।
आन्दोलनरत ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरू वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न सङ्घ–सङ्गठनहरूले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् ।
जेनजीका प्रतिनिधिहरू सडकमा सरसफाइ अभियानमा निस्किएका देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरू पनि ससरफाइ, कागजात सङ्कलन, क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कर्मचारीहरूले कार्यालय सञ्चालनका लागि आवश्यक कामहरू गरिरहेका छन् ।
सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि १० बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छ भने आज बेलुकी ५ देखि ७ बजेसम्मका लागि पनि खुला गरिएको छ ।
सेनाको सूचना अनुसार अहिले बिहान १० बजेदेखि शुरू भएको निषेधाज्ञा बेलुकी ५ बजेसम्म लागू हुनेछ । यस्तै कर्फ्यु आज बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।
काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि हिँडडुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रूपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्णरूपमा निषेध गरिएको छ ।
काठमाडौं उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।


प्रतिक्रिया