काठमाडौं । काठमाडौंको चाबहिलमा नेपाली कांग्रेसनिकट तरुण दलको एक समूह र कोटेश्वर-तीनकुने सडक खण्डमा नेकपा माओवादी केन्द्रनिकट भ्रातृ संगठन वाईसीएलको एक समूहले प्रदर्शन गरिरहेका छन् ।
वाईसीएलको अर्को समूहले काठमाडौंको बबरमहल सडक खण्डमा पनि सांसद राजन दाहालसहितको उपस्थितिमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न र संवैधानिक व्यवस्थाअनुसार अन्तरिम सरकार गठनको प्रक्रिया सुरु गर्न भनेका छन् ।
जेनजीको प्रदर्शनपछि अस्तव्यस्त बनेको काठमाडौंमा निषेधाज्ञा जारी छ । सडकमा नेपाली सेना छ। ठाउँमा ठाउँमा कडा जाँच पनि गरिरहेको पनि छ ।
प्रदर्शन नियन्त्रणबाहिर गएपछि मंगलबार रातिदेखि नै सेना परिचालन भएको थियो । शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा सारिसकेको छ । राष्ट्रपति पनि नेपाली सेनाकै सुरक्षामा छन् ।
अहिले अन्तरिम सरकार गठनको विषयमा जेनजीका प्रतिनिधिसँग प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न चरणमा छलफल गरिरहेका छन् । तर जेनजी नै विभाजित हुँदा उनीहरूले कुनै पनि नाम दिन सकेका छैनन् ।
अहिले सेनाले सरकार गठनको पहल सुरु गरेको विषयमा विरोध सुरु भएको छ ।


प्रतिक्रिया