काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।
सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले ह्वाट्स एप मार्फत आधिकारिक पत्र पठाएका हुन् । आफ्नो पदबाट राजीनामा दिँदै उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पत्र पठाएका हुन् ।
राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएका हुन् ।
सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो राजीनामा पत्र पठाएका हुन् ।
‘भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’ उनले उपसभामुख चापागाईंलाई लेखेको पत्रमा लेखिएको छ ।
पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मत सहित सभामुख निर्वाचित भएका थिए ।


प्रतिक्रिया