वासिङ्टन डीसी । चिनियाँ मूलको कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा ६ जना अमेरिकी हुनेछन् । उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताइन् ।
संयुक्तराज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कङ्ग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानुन पास गरेको थियो ।
अमेरिकी नीति निर्माताहरूले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए । तर ट्रम्पले आफ्नो सन् २०२४ को चुनावी अभियानमा युवाबिच लोकप्रिय टिकटकलाई सक्रिय रूपमा प्रयोग गरेका थिए ।
ट्रम्पले प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गर्दै सम्झौता खोजिरहेका बेला ओरेकललगायतका लगानीकर्ताले टिकटक खरिद गर्न रुचि देखाएका छन् । ओरेकल ट्रम्पका प्रमुख समर्थक तथा विश्वकै धनीमध्ये एक ल्यारी एलिसनको स्वामित्वमा रहेको टेक कम्पनी हो ।
लेभिटका अनुसार टिकटकको डाटा र गोपनीयता व्यवस्थापन ओरेकलले गर्नेछ, एल्गोरिदम पनि अमेरिकाको नियन्त्रणमै रहनेछ । उनले भने– ‘यी सबै विवरणमा सहमति भइसकेको छ, अब सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी छ ।’


प्रतिक्रिया