सञ्चारमन्त्रीको पहिलो निर्णय : १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम गर्नेछाैं



काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दुई वटा घोषणा गरेका छन् ।

मन्त्री खरेलले २ महिनाभित्र काठमाडौँ उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने निर्णय गरेका छन् ।

त्यस्तै पाँच महिनाभित्र राजधानीसहित देशभरका सात वटै प्रदेशका १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको पहुँच हुनेछ ।

खरेल आजमात्रै सञ्चारमन्त्रीमा नियुक्त भएका हुन् ।

मन्त्री खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपालको कर्मचारीतन्त्रलाई विश्वास गर्नसकिने देख्न रहर भएको बताए ।

‘खरानी र धुलो टकटक्याउँदै अब हामी जनतालाई अनुभूत हुनेगरी केही पक्कै गर्छौं । यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरा आउँछ । देश र जनता बनाउने कुरामा अघि बढ्छौं,’ खरेलले भने ।

कर्मचारीतन्त्र स्वतन्त्र भएको खण्डमा धेरै काम गर्न सकिने उनको भनाइ थियो ।

‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन् । लोकसेवा त्यतिकै पास गरेको हुँदैन,’ उनले भने ।

एउटा मन्त्री मात्रै भएर काम गर्न नसकिने भन्दै उनले कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बतँए ।