ओखलढुंगा। जेन-जी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद रामहरि खतिवडाले ओखलढुंगामा राजनीतिक कार्यक्रम गरेका छन्।
गत शनिबार उनले दिवंगत कांग्रेस नेता पूर्वमन्त्री बलबहादुर राई र पूर्वराज्यमन्त्री गोपाल राईको निवासमा पुगेर स्थानीय नेता, कार्यकर्ता र युवासँग भेटघाट तथा छलफल गरेका हुन्। प्रजातन्त्र सेनानी बलबहादुर राईको ऐतिहासिक निवासलाई कांग्रेसले ‘तीर्थस्थल’को रूपमा लिने गरेको स्मरण गर्दै खतिवडाले उक्त घरलाई सुरक्षित र सम्मानित राख्दै भावी पुस्तालाई प्रेरणाको स्रोत बनाउनुपर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निर्वाचित सरकार अपदस्थ भई मनोनित सरकार बनेको बेला पार्टीका सबै साथी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “राणा शासनको अन्त्यदेखि राजतन्त्रको अन्त्यसम्म, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि प्रजातान्त्रिक व्यवस्था कायम गर्नेसम्मको भूमिका नेपाली कांग्रेसकै हो। अहिलेको दुर्घटनाबाट बाहिर निस्कन एकताबाहेक विकल्प छैन।”
संघीय सांसदको हैसियतले आफूलाई दिएको जिम्मेवारीमा गल्ती भए सजाय भोग्न तयार रहेको उनले उल्लेख गरे। पार्टीको कुनै पनि पदमा नरहे पनि संगठन निर्माण र पार्टी बचाउन योगदान दिन तयार रहेको पनि उनले प्रष्ट पारे।
भदौ २३ र २४ गते सडकमा उत्रिएका जेनजी पुस्ताको माग र भावनालाई बेवास्ता नगरी सहकार्यसहित अघि बढ्नुपर्नेमा खतिवडाले जोड दिए। “जेनजी पुस्ताले व्यक्त गरेको भावना क्षणिक उत्साह होइन, भविष्यको मार्गदर्शन हो। त्यसलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ,” उनले भने।
खतिवडाले सहकार्य र एकतालाई समाधानको बाटो भन्दै कांग्रेसलाई अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए। “आज नेपाली समाजलाई चाहिएको कुरा हो—एकता र साझा दृष्टिकोण। विभाजनले केही फाइदा गर्दैन,” उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रदीप सुनुवार, ओखलढुंगा कांग्रेस सभापति तेजेन्द्र खनाल, सचिव अजय लुइटेल, महाधिवेशन प्रतिनिधि नविन राई लगायत नेता, कार्यकर्ता र युवाहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले पनि नयाँ पुस्तासँग सहकार्य गर्दै पार्टीलाई सबल बनाउनुपर्ने धारणा राखे।
यसअघि जेन-जी आन्दोलनले भ्रष्टाचारको अन्त्य, राजनीतिक दलभित्र आन्तरिक सुधार र पारदर्शिताको माग गर्दै देशभर दबाब सिर्जना गरेको थियो। त्यसै सन्दर्भमा खतिवडाले जिल्लामा गरेको यो कार्यक्रमलाई उत्साहको रुपमा हेरिएको थियो ।



प्रतिक्रिया